अमेरिकाका ३१ सौ राष्ट्रपति हर्बर्ट हुभरको शव्दमा, ‘युद्धको घोषणा बूढाहरु गर्छन, तर लडनु र मुर्नु त युवाहरुले पर्छ’ । कुनै पनि राष्ट्रको भाग्यको सुरु र अन्तिम अस्त्र युवाशक्तिनै हो । युवावर्ग सघन उर्जा हुन् । समाजका निम्ति या ती सिर्जनात्मक हुन्छन् वा ध्वन्सात्मक । राज्यले सही ढंगमा तिनको उपयोग गर्न सक्यो बरदान, नभए अभिसाप सिद्ध हुन्छ । विकसित मुलुकमा उर्जावान युवाजनशक्तिको अभावमा र विकासशील देशमा त्यसको अधिकताले आर्थिक, सामाजिक, राजनीतिक समस्या देखिने गरेको छ । तीब्र विकासवान देशहरु अहिले परदेशबाट युवा मावनश्रम आयात गर्न बाध्य छन् । विकसित देशले पहिले बढी जनसंख्या हुनलाई समस्या भने, अहिले युवा जनसंख्या कम हुनु समस्या भएको थाहा पाए ।
जनसंख्याको बृद्धिले मान्छेको खाने मुखमात्र बढेरसमस्या आएको हुदैन, राज्यको नीतिले त्यस्ता मानवपुजिको सदुपयोगलाई सम्वोधन गर्न नसक्दा राजनीतिक, सामाजिक, आर्थिक क्षेत्रको सुव्यवस्थामा गम्भिर प्रभाव परेको हुन्छ । समग्र जनसंख्यामा तरुणवर्गको अनुपातले देशको सामाजिक राजनीतिक अमनचैन वा शान्तिमा ज्वलन्त प्रभाव पारेको हुन्छ । राजनीतिक दलको जुझारुपना, सामाजिक, राजनीतिक उथलपुथल, विद्रोह, आन्दोलन, क्रान्तिका परिमाण तथा परिणाम एवं त्यसको गुणस्तर र यथास्थितिविरुद्ध खैलाबैला मच्चाउने ताकत युवावर्गको अनुपात एवं नेतृत्वको विद्यमानताबाटै सबैभन्दा बढी प्रभावित हुने गरेको छ ।
तीब्ररुपमा विकसित मुलुकले श्रमको खाचो पूर्तिमा विज्ञान, प्रविधि एवं यन्त्रको भरपूर उपयोग गरेर समृद्धि हासिल गरेका हुन् । जनसंख्या धेरै हुन समस्या हो भन्ने माल्थसको जनसंख्याको सिद्धान्तको प्रभावका कारण विकसित देशमा जनसंख्या घट्न थालेर उत्पादन प्रणालीमा यान्त्रिकीकरण हुदै मानवश्रमको आवश्यकता घट्न थालेको होे । तर, त्यता आम्दानी बृद्धिले गुणस्तरीय सेवासुविधाका क्षेत्रहरुमा युवा जनशक्तिको माग झन् बढ्न थालेको छ । स्वास्थ्य विज्ञान एवं प्रविधिको चामत्कारिक प्रगति संगसंगै मानिसको औषत उमेर पनि बढेको छ । मृत्युदर, जन्मदर र जनसंख्यामा युवाको अनुपात घट्दै छ, बृद्धबृद्धाको अनुपात बढ्दै छ । यसको ठीक विपरित यता विकासशील एवं अल्पविकसित देशहरुमा बृद्धबृद्धा एवं युवा दुवैको जनसंख्या बढ्दै छ ।
युवामा अनुभवको कमी हुन्छ तर उर्जाशील हुन्छन, अन्यायविरोधी हुन्छन् । तत्काल परिणामको अपेक्षा गर्छन्, सिर्जनशील, साहसी र अधैर्य हुन्छन् । परिवारको भरणपोषण, सामाजिक सुव्यवस्था र सकारात्मक परिवर्तका लागि संघर्षशील हुन्छन् । जीवन निर्वाह र भविष्य सुरक्षित गर्न धनार्जन गर्नुपर्ने जिम्मेवारी पनि बहन गरिरहेका हुन्छन । आधुनिक बैज्ञानिक एवं प्राविधिक विद्या र सामाजिक अध्ययनमा पनि दत्तचित्त हुन्छन् । राजनीतिक सामाजिक आन्दोलनमा सहज सहभागी हुन्छन् । न्याय र समानताका लागि बलिदान दिन सदातत्पर हुन्छन् ।समाजका सवै क्षेत्रका परिवर्तनका वाहक तरुण हुन् । यो वर्गविना नेपालमा कुनै राजनीतिक आन्दोलन संभव भएको छैन । सहिदहरुमध्ये ९५ प्रतिशत युवानै छन् । तर, नेपालका तरुणलाई स्वार्थी राजनेताहरुले सत्तामा जाने भर्यांग मात्र बनाएको पाइएको छ । सही नेतृत्व एवं गम्भीर विद्याअध्ययनको अभावमा यिनीहरु दिग्भ्रमित छन् । यिनको हितमा राज्यको अर्थपूर्ण कार्यक्रम र योजना रहेको पाइदैन ।
देशको युवा अनुपातको मापन त्यहाको जनसंख्याको मिडिएन एज (मध्येउमेर)बाट गर्न सकिन्छ । अर्थात् मिडिएन एजले कूल जनसंख्यालाई आधा भागमा बाड्छ । यसले कूल जनसंख्यामा आधा जनसंख्याको उमेर कति वर्षभन्दा मुनि रहेछ वा माथि रहेछ भन्ने आंकडा दिन्छ । मिडिएन एज जति कम छ, त्यति अधिक तरुणको बाहुल्य भएको प्रमाणित हुन्छ । यसर्र्थ शान्त देशको मिडिएन एज अशान्त अल्पविकसित देशभन्दा बढी हुनु स्वाभाविक छ । विकसित देशमा युवाको परिमाण एवं अनुपात घट्दो छ भने अल्पविकसित देशमा बढ्दो । त्यसैले विकसित देश शान्त देखिन्छन् भने अल्पविकसित देशहरु अशान्त । आजका विकसित देश, विगतमा जति बेला त्यहा तरुणवर्गको बाहुल्य रहेको थियो, राजनीतिक उथलपुथलको क्रमबाटै गुज्रेका थिए । उर्जावान तरुणवर्गको सदुपयोग गर्ने स्पष्ट नीति र कार्यक्रमयुक्त मुलुक विकासको यात्रामा सधै तीब्र अघि बढेको हुन्छ ।
राजनीतिक खैलाबैला, विद्रोह र तरुण जनसंख्याको अनुपातबीच अर्थात् मिडिएन एज र विश्वको सामाजिक, राजनीतिक उथलपुथल वा असंतुलनबीच सोझो सम्वन्ध रही आएको छ । शान्त देशको मिडिएन एज तुलनात्मक रुपले बढी भएको हुन्छ । अहिले राजनीतिक, सामाजिक दृष्टिले शान्त देखिने जापानको मिडिएन ऐज ४३ वर्ष, स्वीट्जरल्याण्डको ४० वर्ष, बेलायकको ३९ वर्ष, क्यानाडको ३९ वर्ष, सिंगापुरको ३७ वर्ष, अमेरिकाको ३७ वर्ष, दक्षिण कोरियाको ३५ वर्ष रहेको पाइन्छ । विकसित समृद्ध भएर नभई मिडिएन एज बढी भएकाले ती शान्त देखिएका हुन् । त्यस्तै, न धेरै शान्त वा नत धेरै अशान्त मानिने बंगलादेशको २२ वर्ष, मलेशियाको २४ वर्ष, भारतको २५ वर्ष, श्रीलंकको ३० वर्ष र चीनको ३३ वर्ष मिडिएन एज देखिन्छ । ज्यादै ठूलो राजनीतिक अशान्तिबाट गुज्रदै गरेका अफगानिस्तानको साढे १७ वर्ष, भुटानको साढे २० वर्ष, पाकिस्तानको २० वर्ष, पूर्विटिमोरको साढे २० वर्ष र नेपालको साढे २० वर्ष मिडिएन एज छ ।
अफगानिस्तान, इराक, सियरा लिओन, सोमालिया, सुडानजस्ता अविकसित देशले पनि आमेरिका, बेलायत जस्ता शक्तिशाली देशलाई हायलकायल पार्ने गरेको छ । त्यस्तै विगतमा भियतनाम, कम्वोडिया, बर्मा, चीन, उत्तरकोरियाले विदेशी हस्तक्षेपकारी महाशक्ति देशहरुलाई धुलो चटाएका थिए । नेपालमै पनि यसैकारणले विदेशी समर्थनका वावजूत ज्ञानेन्द्रले राजगद्दी त्याग्न बाध्य भएर मुलुक गणतन्त्र बन्योे । यी सवै संभव हुनुको प्रमूख कारण यी देशको जनसंख्यामा तरुणवर्गकोे क्रिटिकल मास वा निर्णायक संख्या भएर हो भन्ने प्रमाणित हुन्छ ।
जुन देशमा जुनबेला मिडिएन एज बढ्दै गएको हुन्छ त्यहा त्यसवेला सामाजिक उथलपुथल घट्दै गएको हुन्छ । हिजो अशान्त रहेका देश आज शान्त हुनुका कारण हुन्ः तरुणलाई सम्वोधन गर्ने राजनीतिक सुुझबुझ हुनु वा मिडिएन एज बढेको हुनु । अहिले नेपाल, अफगानिस्तान, इराक, भुटानमा मिडिएन एज अर्थात् युवाको जमात बढ्ने वा मिडिएन एज घट्ने क्रममा छ । तसर्थ त्यहा अझै थप खैलाबैला जारीरहने पूर्वाधार पनि जीवन्त छ । शक्ति, सत्ता, विदेशीको हस्तक्षेपमार्फत हैन, राजनीतिक सुुझबुझबाट तरुणलाई अर्थपूर्ण दिगो रोजगारीजस्ता सामाजिक सुरक्षा प्रदान गर्न सकेमात्र ती मुलुकमा शान्ति, समृद्धि र सुखको वातावरण स्थापित हुन सक्नेछ ।
लेनिनले भनेका छन्, ‘अधिकतम जनता निस्पट्ट गरिबीमा वा तिनीहरुउपर हुने राज्य र शोषकवर्गको घोर दमनले मात्र कुनै देशमा क्रान्ति हुदैन, क्रान्ति तबसम्म संभव छैन जबसम्म यस्ता पीडित उपेक्षितवर्गको हितमा काम गर्ने राजनीतिक दलको सशक्त उपस्थिति एवं नेतृत्व त्यहा विद्यमान भएको हुदैन।’ लेनिनले भनेझै यस मुलुकका राजनीतिक दलको नेतृत्वमा शोषित पिडीतका पक्षपाती युवा जमातको क्रिटिकल संख्या एवं नेतृत्व विद्यमान नभएकाले नेपालका विगतका राजनीतिक आन्दोलनहरु सहमितिमा टुंगिएर तुहिदै गएका हुन् ।
जसमा तरुणशक्तिको उर्जालाई उपयोग गर्न समर्थ युवा नेतृत्वको बाहुल्य भएको राजनीतिक दल हुन्छ, नेतृत्वको साचो तिनलाई हस्तान्तरण हुदै जाने संस्थागत संयन्त्र निर्माण हुदै जान्छ, त्यस्ता राजनीतिक दलले मात्र मुलुकलाई सुनौलो भविष्यमा पुर्याउन समर्थ हुन सक्छ । त्यस्तो संस्कृति भएको दलको मात्र राजनीतिक भविष्य उज्ज्वल छ । त्यही दलले मुलुकलार्ई समृद्ध, शान्त सुखी बनाउन नेतृत्व प्रदान गर्न समर्थ हुनेछ । जुझारुपनाको चरित्र भए मात्र मुलुकलाई सही दिशामा दह्रासंग डोर्याउन सक्छ । तरुणको जनसंख्या डेढ करोड पुगिसकेको अहिलेको नेपालमा अनुयायी र पिछलग्गु बनाएर नभई, नेतृत्वमा तिनलाई जबरजस्त उपस्थिति गराएर मात्र समृद्ध नेपालको निर्माण संभव छ । अजुझारु परम्परागत ठूला, पुराना, अनुभवी दल स्वाभाविक रुपले यथास्थितिप्रिय तथा सुस्त हुन्छन् । परिवर्तन तिनको चरित्रविपरित हुन्छ । भेडाले नेतृत्व गरेको सयौ सिंहको सेनाभन्दा एउटा सिंहले नेतृत्व गरेको सय भेडाको फौज बढी बलशाली हुन्छ ।
नेपालका राजनीतिक दलहरुमा युवाको जमात यथेष्ठ भए पनि तिनको भूमिका निरिह एवं पिछलग्गू मात्र देखिदै आएको छ । विगतमा जतिबेला जुझारु युवाको हातमा नेतृत्व रहेको थियो ती दल पनि परिवर्तनका पक्षधर एवं लडाका थिए । नेपाली कांग्रेसले सशस्त्र क्रान्तिको विगूल फुक्दा नेतृत्वमा अहिलेका बूढा नेतानै त्यतिखेर युवा थिए । हतियारयुक्त कम्युनिष्ट झापा विद्रोह गर्दाताका त्यतिखेरका नेताहरु युवानै थिए । अहिले शासनको बागडोर तिनीहरुको हातमा छ । तर, वर्तमान क्षमताका कारणले नभएर तिनका युवाकाल बलिदानी भएकाले नै अहिले तिनले सत्ताको व्याज खाएका हुन् । दुनिया बुझेर, हण्डर खाएर, अनुभवी भएर अहिले ती शान्तिप्रियजस्ता देखिएका होइनन् । बूढा एवं उर्जाहीन भएर यस्तो देखिएको हो ।
मुलुकमा सशस्त्र विद्रोही नेकपा माओवादीको सशक्त उदय हुनु निर्णायक नेतृत्वमा तरुणको बाहुल्यले नै हो । त्यस्तै तराईमा दर्जनौ सशस्त्र राजनीतक समूहको नेतृत्व पनि युवा जमातको हातमा छ । नेपालको वर्तमानमा यस्ता सशस्त्र नया दलहरुको जन्म हुन जनसांख्यिक कारकतत्व मिडिएन एज घट्दै जानुले हो । यहा ३५ वर्ष मुनिका जनसंख्याको परिमाण ६० प्रतिशत पुगिसकेको छ । बेरोजगारी चरमचुलीमा छ । मुलुकको मिडिएन एजको संरचना र राजनीतिक सामाजिक संतुलनबीचको सम्वन्धलाई राजनीतिक दलहरुले बुझ्न अति जरुरी छ । यसलाई बुझेर सही कदम चालिएन भने अझ बढी अशान्ति र रगतको फागु खेल्ने अवस्था अपरिहार्य देखिन्छ । मुलुकको जनसांख्यिक संरचनाको चरित्रले भयंकर राजनीतिक सामाजिक नतिजा निम्त्याउने विष्फोटक परिस्थिति छ ।