कात्तिक १। सबै धर्मका शास्त्रहरूमा, न हिन्दू सनातन धर्ममा छुवाछुत छ, न ईसाईमा छ, न ईस्लाममा छ र न शिखमा छ न बुद्धमा छ तर यी सबै समाजमा छुवाछुत आजसम्म पनि विद्यमान छ। म सबै प्रकारका विभेदको विरूद्धमा छु । म कुनै खालको छुवाछुत गर्दिन। म सहरमा बस्छु, त्यसैले मेरो ब्यवहारले गाउँका छुवाछुतमा कुनै फरक पार्दैन। कति सामाजिक, कति निजी र कति कानुनी विभेद हुन् यसको सबैले भेद बुझ्न जरूरी छ। विशेष समाज र कुटुम्बमा परम्पराहरू होलान्, तिनलाई त्यति महत्व दिन जरूरी छैन तर मानव मानवबीचको ट्रान्जेक्सन र ईन्टरएक्सनमा छुवाछुत कदापी रहनु हुदैन, त्यसो गरिनु मानवताबिरूद्धको अपराध हुन्छ।
हाम्रो मुलुकलाई छुवाछुतमुक्त सभ्य समाज बनाईनु पर्छ। यो द्वन्दबाट हैन, समाजको संवेदनशिलता, समन्वय, सहिष्णूता, सहकार्यमार्फत मात्र संभव हुन्छ। अर्काको सम्मान गरेर मात्र हुन्छ। नेपाली समाजमा कतै कतै तिब्र र कतै कतै हटिसकेको विद्यमान छुवाछुतको चलन हटाउने अभियानमा एक नेपालीपनको अभिनव चाहिन्छ । नेपाल विभेदमुक्त आदर्श समाज भएको मुलुक बन्न सजिलै सक्छ तर यसका तरिका र साधनपनि उत्तिकै सही नविन सुझबुझपूर्ण तथा समन्वयकारी हुनुपर्छ। जातीय र धार्मिक राजनीति यसका कटू शत्रू हुन्। यसलाई जेनरलाईजेशन गरिनु नै समस्या बल्झाउने मूर्खता हो। भनिन्छ मित्रलाई शत्रू बनाउनु छ भने राजनीतिको कुरा गर, त्यो फेल भयो भने धार्मिक कुरा गर र त्यसले पनि फेल खायो भने जातीय कुरा उचाल। नेपालमा यी तिनै कुरा उचालेर समाधान खोजिदै आएको देखिन्छ। यहॉ कुतितिर हिडेर कॉशी पुग्ने दुस्साहस हुने गरेको छ!
ईसाई, ईस्लाम, शिख धर्मावलम्वी समाजका मानिस मानिसबीचमा छुवाछुत हुन्छ। हुन त कुनै धर्मशास्त्रमा पनि छुवाछुत छैन र हुदैन तर पनि सबै समाजमा छुवाछुत छ। यसलाई समाधान त समाजमा पसेरै, घुसेरै बसेरै समाधान खोजिनुपर्छ। सबै धर्मका पोथाहरू आदर्श नै हुन्छन्, त्यसको पालना गरेको भए समस्या नै आउने थिएन।
त्यसैले तिनका बिरूद्ध त्यसमा आक्रमण गर्नु वा ब्यक्ति वा कुनै जातमाथि कुनै रूप रंगको आक्रमण गर्नु गन्तब्यहीन, तारोहिन तिर हान्नु सरह हो। त्यसो गरिनु विद्यमान समस्यालाई झन् बल्झाएर नर्कमा बस्ने रहर मात्र हुन्छ। कसलाई मजा आउछ हँ नर्कमा बस्न?